आगामी मंसिर १० गतेको लागि निर्वाचन क्षेत्र निर्धारण

भदौ १३, २०७४ काठमाडौं :

संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ। २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको आयोगले काम लगभग सकेको हो। आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। सोही निर्वाचनमा नयाँ निर्वाचन क्षेत्रहरु कार्यान्वयनमा आउने छन्। प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र भएको ठाउँमा प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र हुनेछ। संविधानबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा पहिलो प्राथमिकता जनसंख्या र दोस्रो प्राथमिकता भूगोललाई दिइएको छ। यसो गर्दा जनसंख्या नपुगेका जिल्लाहरुलाई पनि कम्तिमा एक निर्वाचन क्षेत्र सुरक्षित गरिएको छ। जसको प्रत्यक्ष लाभ रुकुम जिल्लाले उठाएको छ। रुकुममा पर्याप्त जनसंख्या नभए पनि सरकारले हालै दुई प्रदेशमा परेका रुकुमका भू–भागलाई छुट्टाछुट्टै जिल्लाको मान्यता दिएपछि रुकुममा दुई निर्वाचन क्षेत्र हुने भएको छ। यस्तै टुक्रिएको अर्को जिल्ला नवलपरासीमा दुवैतर्फ दुई-दुई निर्वाचन क्षेत्र रहने छ। यसक्रममा काठमाडौं उपत्यकामा भने निर्वाचन क्षेत्र घटेको छैन। जनसंख्याका आधारमा पनि निर्वाचन क्षेत्र घटाउनु नपर्ने देखिएको हो। काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र कायम रहनेछ। कुन जिल्लामा कति प्रतिनिधिसभा निर्वाचन क्षेत्र? हेर्नुहोस् नक्सा :

कुन जिल्लामा कति निर्वाचन क्षेत्र?

  • १० वटा निर्वाचन क्षेत्र भएको जिल्लाः  १, (काठमाडौँ)
  • छवटा निर्वाचन क्षेत्र भएको जिल्लाः   १, (मोरङ)
  • पाँचवटा निर्वाचन क्षेत्र हुने जिल्लाः ५, (झापा, धनुषा, सर्लाही, रूपन्देही र कैलाली)
  • चारवटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाः ७,  (सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, बारा र पर्सा)
  • तीनवटा निर्वाचन क्षेत्र हुने जिल्लाः ७,  (कास्की, बाँके, कञ्चनपुर, चितवन, दाङ, कपिलवस्तु र ललितपुर)
  • दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाः १९, (इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, तनहुँ, गोरखा, गुल्मी, बर्दिया, दैलेख, स्याङ्जा, बागलुङ, सुर्खेत, भक्तपुर, मकवानपुर, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी)
  • एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाः ३७, (सोलुखुम्वु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, बाजुरा, म्याग्दी, डडेल्धुरा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, बझाङ, पाँचथर, भोजपुर, धनकुटा, ओखलढुंगा, खोटाङ, अर्घाखाँची, रोल्पा, प्यूठान, लमजुङ, सल्यान, जाजरकोट, अछाम, डोटी, बैतडी, पर्वत, पूर्वी रुकुम र पश्चिम रुकुम)

 

स्रोत : थाहा खवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *